सुशील सुवेदी
स्याङ्जा , फागुन ०७
अधिकाशं ठुला बजेट र विकासको योजना समयमा सम्पन्न नहुने समाचार बाहिर आउने गरेका छन् । तर , साना विकासे कार्यक्रम गाउँ गाउँमा लोकप्रिय बन्न थालेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा जनसहभागिता र श्रमदानको कारण सानो बजेटले धेरै काम सम्पन्न हुन थालेको हो । यसको गतिलो उदाहरण वालिङ ९ स्थित राउतडाँडा बाहुनथान पैदलमार्ग बनेको छ ।
स्मार्ट सिटीको रुपमा अगाडि बढेको वालिङ नगरपालिकाको भूम्रे देखि राउतडाँडा हुँदै बाहुनथान सम्मको पैदलमार्गमा उल्लेख्य सहभागिताको कारण ५० औँ लाखको काम ८ लाखमा निर्माण भैरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यहाँका गाउँबासी श्रमदानमा जुटेका हुन् । झण्डै डेढ किलोमिटरको यो मार्ग सम्पन्न हुँदा वालिङबासी मर्निङ वाक गर्न , पर्यटकिय स्थल बाहुनथान सम्म जान र बाटोमा टिकटक बनाउन निकै लोकप्रिय हुने छ । यो पैदलमार्ग स्वास्थ्यको दृष्टिकोणले पनि निकै महत्वपुर्ण रहेको वालिङ ९ का वडा सदस्य दिपक श्रेष्ठको भनाइ छ । उनी भन्छन् , ‘वालिङबासीलाई स्वस्थ बनाउने र पर्यटकिय क्षेत्र बाहुनथानको प्रवद्र्धन गर्ने हाम्रो उदेश्य हो । ’
बाहुनथान सम्म पुग्न सवारी साधन जाने मार्ग भएपनि ट्रेकिङ गर्ने पर्यटकको लागि यो वैकल्पिक मार्ग प्रभावकारी हुनेछ । यो पैदल मार्गको बिच बिचमा विश्राम स्थलको रुपमा चौतारी निर्माण हुने वडा सदस्य श्रेष्ठको भनाई छ । राउतडाँडाका सबै घरधुरीले श्रमदान गरेपछि ठुलो बजेट लाग्ने योजना थोरै रकममा निर्माण हुने भएको हो ।
बाहुनथान अहिले स्याङ्जाबासीको प्रमुख रोजाइको गन्तव्य बनेको छ । बाहुनथानबाट देखिने गुलाबी शहर , आँधिखोलाको मनमोहक दृश्य र यहाँको एक्लो रुखले जोसुकै पर्यटकलाई आकर्षित गर्ने गर्दछ । यस्ता क्षेत्रको प्रवद्र्धन गर्न राज्यको ठुलो बजेट मात्र होइन सानो बजेटले पनि टेवा पुर्याएको श्रेष्ठको भनाइ छ ।
नगरभित्रको १४ वटै वडामा १ करोड २७ लाखको लागतमा ३१ वटा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालित छन् । जसमध्ये १४ वटा सम्पन्न योजना सम्पन्न भैसकेको वालिङ नगरपालिकाका रोजगार संयोजक पवन बस्यालले बताए । गाउँगाउँमा देखिने र जनताले अनुभुत गर्ने काम पाएपछि दक्ष जनशक्तिको श्रम पनि बिकेको छ । यसले गाउँबासीको आवश्यक्ता पनि पूर्ति गरेको कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय बनेको हो ।