साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले अर्जुनचौपारी गाउँपालिका– ३ आग्रिखर्क, स्याङ्जामा रहेको श्री सरस्वती आधारभुत विद्यालयलाई फर्निचर डेस्कबेन्च उपलब्ध गराएको छ । उक्त वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकको अनुदान रु.३ लाख सहित ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि., अर्जुनचौपारी, स्याङ्जाको लागत सहभागितामा उक्त विद्यालयलाई ४० सेट डेस्क बेन्च उपलब्ध गराइएको हो । श्री सरस्वती आधारभुत विद्यालयको आयोजनामा
मिति २०७९ असार ११ गते आयोजित एक कार्यक्रमका बिच उक्त वित्तीय संस्थाको इलाका कार्यालय, पोखराका इलाका प्रबन्धक श्री विदुर अर्यालले फर्निचर डेस्कबेन्च विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो । फर्निचर डेस्कबेन्च सहयोगबाट ८ कक्षासम्म अध्ययन अद्यापन हुने उक्त विद्यालयका १०० जना विद्यार्थीहरु लाभान्वित भएका छन् । विभिन्न संघसंस्था र सरकारी निकायको सहयोगमा विद्यालयको भवन निर्माण भएता पनि विद्यार्थीहरुको लागि डेस्कबेन्चको व्यवस्था नहुँदा अति अप्ठ्यारो अवस्थाको सामना गर्नु परिरहेको अवस्थामा विद्यालय प्रति माया र सदभाव राख्दै साना किसान लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा सबै विद्यार्थीको लागि पर्याप्त डेस्कबेन्च प्राप्त भएको र अब विद्यार्थीहरुलाई अध्ययन अद्यापन गराउन सहज हुने बताउनु हुँदै विद्यालयका प्रधानाध्यापक श्री ओम बहादुर गुरुङ्गले साना किसान विकास लघुवित्त वित्तीय संस्था प्रति धन्यवाद ज्ञापन गर्नु भएको भयो । त्यसै गरी वित्तीय संस्थाको उद्देश्य अनुसार पिछडिएको दुर्गम स्थानको विद्यालयलाई फर्निचर सहयोग गरिएको र भविष्यमा पनि यस्ता दुर्गम स्थानका सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा वित्तीय संस्थाले सहयोग गर्न सक्ने कुरा उक्त वित्तीय संस्थाका इलाका प्रबन्धक श्री विदुर अर्यालले बताउनु भएको थियो ।