सुशील सुवेदी
स्याङ्जा , असोज १०
‘ग्रामीण पर्यटनको विकास ,राष्ट्र निर्माणको आधार’, भन्ने मुल नारा सहित असोज १९ देखि तेस्रो कोखे महोत्सव हुने भएको छ । विजया दशमीको अवसर पारी नवज्योती युवा क्लवले पाँच दिन सम्म उक्त महोत्सव गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
महोत्सवमा स्थानीय कृषिको प्रदर्शन , बृहत भलिबल प्रतियोगिता , कला संस्कृतिको प्रदर्शनी गरिने महोत्सव मुल आयोजक समितिका संयोजक भविराज गुरुङले बताए ।
लोपोन्मुख अवस्थामा पुगेको सोरठी , रेलिमै जस्ता संस्कृतिलाई पनि संरक्षण गर्न उक्त महोत्सवले भूमिका खेल्ने गुरुङको भनाई थियो ।
दश हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । वालिङ नपा—१२ मा पर्ने कोखे गाउँ सिद्धार्थ राजमार्गबाट झण्डै १३ किलोमिटर ग्रामिण सडकखण्डमा पर्दछ ।
महोत्सव अवधिभर बाहिरबाट आउने अतिथिको लागि सहुलियत दरमा कोखे सामुदायिक होमस्टेमा आवासको व्यवस्था गरिएको छ । गुरुङ सुमदायको बाहुल्यता रहेको कोखेमा गुरुङ संस्कृती झल्किने भेष भुषा , झाँकी समेत प्रर्दशन गरीने आयोजकले जनाएको छ,।
यस्तै , युवा पुस्तामा लोकप्रिय भलिवल खेल महोत्ववको अर्को आकर्षण हुने छ । खुल्ला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि एक लाख राखिएको गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङले बताए । ‘ग्रामीण क्षेत्रमा खेलीने लोकप्रिय खेललाई प्रोत्साहन गर्न महोत्सव अवधिभर बृहत भलिबल प्रतियोगिता संचालन गरीने छ’ , गुरुङले बताए ।
यहाँ आउने दर्शकले होमस्टेको अतिरिक्त धाराचु मिनी पार्कको समेत अवलोकन गर्न सक्नेछन् । महोत्सव यहि असोज २४ गते सम्म संचालन हुनेछ ।