सुशील सुवेदी
स्याङ्जा,०६ कार्तिक
धानको मुठी लिने चलन नेपालको पहाडी जिल्लामा कायम नै रहेको छ । ग्रहण तथा अस्तादी नभएको पूर्ण वा योग दिन पारेर धानको मुठी लिने चलन स्याङ्जामा संरक्षित छ ।
चर अचर प्राणीलाई भोकमरी नपरोस् भन्ने उदेश्यले धान भित्र्याउन भन्दा पहिले एक मुठी धान काट्ने र त्यो धानको चामललाई हवन गरेपछि मात्र अन्न सेवन गर्न मिल्ने धार्मिक मान्यता छ । आज दिनभर उत्तम दिन भएकोले किसानहरु धान खेतमा जाने धुप बाल्ने र एक मुठी धान काट्ने गर्दछन् ।
‘परापूर्वकालदेखि नै अग्रजहरुले विश्वास मान्दै आएको चलन हामीले पनि निरन्तरता दिएका छौँ ’, वालिङ ८ का किसान प्रदिप बगाले बताउँछन् ।
अन्नको भण्डार अन्नपूर्ण वा पूर्व उत्तर फर्किएर मुठी लिएपछि मात्र धान काट्न वा चामल सेवन गर्न मिल्ने धार्मिक विश्वास छ । यसरी मुठी लिएको खेतको धान पूजा पाठमा चल्ने र अन्न प्रसादमय हुने विश्व हिन्दु महासंघका केन्दि«य सदस्य नेत्र प्रसाद पराजुली बताउँछन् ।
आज मुठी लिएको धानलाई (हरि बोधनी एकादशी)को दिन हवन गरिसकेपछि चामल बनाएर द्धादशीको दिन न्वागी खाने चलन छ ।
न्वागी खाँदा काँचो चामल दही केरा एकै ठाउँमा मिसाएर देवता र पितृलाइ चढाएपछि न्वागी खाइने गर्दछ । यसो गर्दा धानको सह रहने र पृथ्वीमा भोकमरी नहुने धार्मिक विश्वास छ । यस्ता विश्वास र मान्यताले कृषि पेशालाई मर्यादीत र संरक्षितमात्र होइन युृवा पुस्तामा पनि कृषि पेशाको आकर्षण बढ्ने देखिन्छ ।