जंक फुड विस्तापित गर्न सामुदायिक विद्यालयका विद्यार्थीलाई टिफिन बक्स

सुशील सुवेदी
स्याङ्जा,असार २०

विद्यार्थीलाई पोषणमा सुधार गर्दै जंक फुड न्युनिकरण गराउने उदेश्यले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यानरत विद्यार्थीलाई टिफिन बक्स वितरण गरेको छ ।
बक्स वितरण गरीएसँगै दिवा खाजाको रुपमा प्रयोग हुने चाउचाउ बिस्कुटको विकल्पमा विद्यार्थीले घरबाट ल्याईएको ताजा र पोषिलो खानेकुरा खाने बानीको विकास हुन थालेको छ । कक्षा ६ र ७ मा अध्यायनरत सामुदायिक विद्यालयका ५५० विद्यार्थीलाई टिफिन बक्स वितरण गरीएको हो ।
टिफिन बक्स वितरण गरीएसँगै विद्यार्थीहरुले घरबाटै खाजा ल्याउने बानीको विकास भएको मिर्मी आधारभूत विद्यालयका शिक्षक ज्ञान प्रसाद पाण्डेले बताए । पाण्डे भन्छन् , ‘यहाँका सामुदायिक विद्यालयमा जंक फूडको प्रयोग शुन्यमा झरेको छ । टिफिन बक्स वितरण भएपनि विद्यार्थीमा मात्र नभई अभिभावकमा पनि चेतनाको स्तर बढेको छ । ’
कक्षा ५ सम्म नेपाल सरकारले दिवा खाजा कार्यक्रम संचालन गरेकोले पहिलो चरणमा कक्षा ६ र ७ र आगामी आर्थीक वर्षमा ८, ९ र १० का विद्यार्थी यो कार्यक्रममा समावेश हुनेछन् ।
कालीगण्डकी गाउँपालिकाले पोषणमैत्री पालिका घोषणा गर्नको लागि पोषिलो अहार पनी सुचकमा परेको कारण विद्यार्थीलाई टिफीन बक्स वितरण गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताए ।

पोषीलो अहारले मानिसलाई स्वस्थ र बौद्धिक बनाउन मद्धत पुग्ने बताउँदै थापाले भने ,‘पालिकावासीलाई शिक्षित र बौद्धिक बनाउन यो कार्यक्रम अघि सारिएको हो । विश्व बजारमा प्रतिस्प्रर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने हाम्रो उदेश्य हो त्यसैले गर्भ अवस्था देखि किशोर किशोरी लक्षित कार्यक्रमलाई निरन्तरता दिएका हौँ । ’
२२ वटा सुचक पार गर्दै जिल्लामै पहिलो पटक कालीगण्डकी भित्रको ३ वटा स्वास्थ्य संस्थालाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरेको पालिकाले आगामी बर्ष पालिकालाई नै पोषण मैत्री पालिका घोषणा गर्ने सोँच बनाएको थापाको भनाई छ ।
विद्यार्थीमा शैक्षिक गुणस्तर वृद्धि गर्न अहार पनि महत्व हुने बताउँदै ,विद्यार्थीले पोषिलो खाना खाँदा स्वस्थ हुने र स्वस्थ बच्चाको शैक्षिक सुधार पनि राम्रो हुने उपाध्यक्ष सावित्रका कोइरालाले बताईन् । गर्भवती महिला सँग उपाध्यक्ष कार्यक्रम संचालन गरेको पालिकाभित्र सुनौला हजार दिन देखि किशोर किशोरी सम्मको कार्यक्रम संचालन गरीएको कोइरालाको भनाई छ ।
जंक फुडके कारण अधिकाशं किशोरीमा रक्त अल्पता भेटिएको बताउँदै कोईराला भन्छिन् , ‘किशोर किशोरीमा रक्त अल्पता भएको भेट्यौँ , त्यसैले स्वच्छ र पोषिलो अहार खानुपर्छ भन्ने शिक्षा दिन टिफिन बक्स वितरण गरेका हौँ । ’

हेर्दा र सुन्दा सामान्य लाग्ने कार्यक्रम भएपनि विद्यार्थीलाई पोषणयुक्त आहार खुवाउने बानीको विकासले शैक्षिक गुणस्तर बृद्धि गर्ने र पोषण मैत्री पालिका घोषणा गर्न टेवा पुग्ने विश्वास कालिगण्डकी गाउँपालिकाले लिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.