बिरुवा गाँउपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने

माधव गैह्रे चैत्र १८, वालिङ

बिरुवा गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन हुने भएको छ। आँखा गुमाउनु भनेको आधा संसार गुमाउनु जस्तै हो, आँखा बचाऔँ” भन्ने सन्देशसहित सञ्चालन हुन लागेको यो दुई दिने शिविरले स्थानीय तहमा आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाको आयोजना तथा बीएम फाउन्डेसन र हिमालयन आँखा अस्पतालको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ। आँखा सम्बन्धी रोगको समयमै पहिचान  ल्याउने उद्देश्यले आयोजना गरिएको यस शिविरले विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास गरिएको छ। सामान्य आँखाको समस्या बेवास्ता गर्दा दीर्घकालीन दृष्टि गुम्ने जोखिम हुने भएकाले प्रारम्भिक परीक्षणलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर बताउनुभयो। अध्यक्ष सूर्य बहादुर कुँवरकोअनुसार स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै नियमित जाँचको बानी बसाल्नु पनि शिविरको महत्वपूर्ण उद्देश्य हो। निःशुल्क स्वास्थ्य सेवाले आर्थिक रूपमा कमजोर तथा सेवाबाट वञ्चित समुदायलाई ठूलो राहत दिने र टाढा–टाढा अस्पताल धाउनुपर्ने बाध्यता हट्ने, समयमै उपचार पाउने र आँखाको स्वास्थ्यप्रति जिम्मेवार बन्ने वातावरण सिर्जना हुने अपेक्षा गरिएको अध्यक्ष कुँवरको भनाई छ।  स्थानीय सरकारले यस शिविरमार्फत नागरिकलाई “स्वास्थ्य सेवा पहुँच र अधिकारमुखी छ” भन्ने अनुभूति दिलाउन खोजेको देखिन्छ। शिविर २०८२ चैत २४ गते बिरुवा आधारभूत अस्पताल, बिरुवा–६ चिन्नेबास र ओरष्टे स्वास्थ्य चौकी, बिरुवा–४ मा सञ्चालन हुनेछ भने २०८२ चैत २५ गते वडा नं. ३ कार्यालय, बिरुवा–३ खालीमा आयोजना गरिनेछ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने शिविरबाट बढीभन्दा बढी लाभ लिन स्थानीयवासीलाई आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.