मौरीमैत्री कृषि प्रणालीको नमुना बन्दै फेदीखोला, सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न
मुना न्यौपाने जेठ ३, वालिङ ।
कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै मौरीपालन क्षेत्रको व्यवस्थित विकासतर्फ अग्रसर स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरीसम्बन्धी अनुगमन सफ्टवेयरको उद्घाटन गर्दै प्रथम मौरी दिवस भव्य रूपमा मनाएको छ। कृषि, प्रविधि र उत्पादन व्यवस्थापनलाई एकै प्रणालीमा आबद्ध गर्ने फेदीखोलाको यो अभियान ग्रामीण कृषि विकासको उदाहरणीय अभ्यासका रूपमा स्थापित गराएको हो । गाउँपालिकाले मौरीपालनलाई केवल आयआर्जनको माध्यम मात्र नभई कृषि उत्पादन वृद्धि, वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणसँग जोडेर अघि बढाएको छ। मौरीले बाली तथा फलफूलका बिरुवामा परागसेचन बढाई उत्पादनमा प्रत्यक्ष योगदान पुर्याउने भएकाले फेदीखोलाले मौरीमैत्री कृषि प्रणालीलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । कार्यक्रममा मौरीपालन अनुगमन प्रणाली सम्बन्धी सफ्टवेयर समेत उत्घाटन गरिएको थियो । अध्यक्ष घनश्याम सुवेदीको अनुसार सफ्टवेयरमार्फत काम गर्न थालेपछि डिजिटल प्रविधिको प्रयोग गर्दे मौरीपालक कृषकहरूको सूचीकरण, घार तथा गोला वितरणको विवरण, फलफूलका बिरुवा वितरण, उत्पादनको अवस्था तथा अनुदानबाट प्राप्त उपलब्धिको तथ्याङ्क सहज रूपमा राख्न सकिने उल्लेख गर्नुभयो। यसले अनुदानको दुरुपयोग रोक्न, पारदर्शिता कायम गर्न तथा कृषि कार्यक्रमलाई नतिजामुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। कार्यक्रममा भूमि सेवा नेटवर्कका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले नेपालमै पहिलोपटक मौरीपालन अनुगमन प्रणालीको सफ्टवेयर फेदीखोला गाउँपालिकाबाट सुरु गरिएको जानकारी दिनुभयो। उहाँले फेदीखोलाको यो अभ्यासलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी भइरहेको बताउँदै कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगले योजना निर्माण, अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने धारणा राख्नुभयो। फेदीखोलाले मौरीपालनलाई कृषि प्रणालीसँग एकीकृत गर्दै कृषकको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा आईपीएम कृषक पाठशाला, ग्राफ्टिङ तालिम, रानी मह उत्पादन तथा आधारभूत मौरीपालन तालिममा सहभागी कृषकहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट हुने गरी ११० जनालाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। त्यसैगरी, आधारभूत मौरीपालन तालिम प्राप्त गरेका २० कृषकलाई प्रतिव्यक्ति दुईवटा दरले ४० वटा मौरीघार वितरण गरिएको छ। आईपीएम कृषक पाठशालामा सहभागी कृषकहरूका लागि ५० प्रतिशत अनुदानमा ६४ वटा मौरीघार उपलब्ध गराइएको थियो। यसले कृषकलाई व्यावसायिक मौरीपालनतर्फ आकर्षित गर्नुका साथै कृषि उत्पादन वृद्धि र आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।कार्यक्रमको अर्को आकर्षणका रूपमा सेरेना मौरी मह प्रदर्शनी, स्थानीयस्तरमा उत्पादित तरकारी तथा कृषि उपजको प्रदर्शनी एवं बिक्री वितरण गरिएको थियो। स्थानीय कृषकले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनीले कृषि उत्पादन र बजारीकरणबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो। मौरीपालन, फलफूल खेती, तरकारी उत्पादन र आधुनिक प्रविधिलाई एउटै कृषि चक्रमा जोड्दै फेदीखोला गाउँपालिकाले अपनाएको कृषि प्रणाली अहिले अन्य स्थानीय तहका लागि पनि अध्ययनयोग्य अभ्यास बन्दै गएको छ। कृषिमा डिजिटल प्रविधिको प्रयोग, लक्षित अनुदान वितरण, कृषकको तथ्याङ्क व्यवस्थापन र उत्पादनमुखी कार्यक्रममार्फत फेदीखोलाले ग्रामीण कृषि विकासको नयाँ मोडल प्रस्तुत गरेको छ। मौरी दिवसको अवसरमा सार्वजनिक गरिएको यो पहलले फेदीखोलालाई मौरीमैत्री तथा प्रविधिमैत्री कृषि प्रणालीको अग्रणी स्थानीय तहका रूपमा स्थापित गरेको छ।






प्रतिक्रिया राख्नुहोस्