चापाकोटमा एकीकृत पाठ्यक्रम तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम सुरु
मेरो दृष्टि सम्बादाता माघ,२० वालिङ
चापाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एकीकृत पाठ्यक्रम सम्बन्धी कार्यमूलक तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम सुरु भएको छ। नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने तथा कक्षाकोठा शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
शिक्षा क्षेत्रमा लागू भएको एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शिक्षकहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ। तालिममा सहभागी शिक्षकहरूलाई स्थानीय स्रोत र सामग्रीको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलापलाई थप आकर्षक बनाउने, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने तथा पाठ्यक्रमअनुसार आवश्यक शैक्षिक सामग्री निर्माण गर्ने विषयमा प्रशिक्षण दिइनेछ। नगरपालिकाले विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन नियमित रूपमा शिक्षक क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। एकीकृत पाठ्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र व्यवहारिक ज्ञान विकासमा जोड दिने भएकाले त्यसको सफल कार्यान्वयनका लागि शिक्षकहरूलाई समयानुकूल तालिम आवश्यक रहेको शिक्षा विज्ञहरूको भनाइ छ। तालिमबाट शिक्षकहरूले कक्षाकोठामा प्रयोग गर्न सकिने विविध शैक्षिक सामग्री आफैं निर्माण गर्न सक्ने, पाठ्यक्रमको उद्देश्यअनुसार सिकाइ सहजीकरण गर्न सक्ने तथा विद्यार्थीको रुचि र क्षमताअनुसार शिक्षण विधि अपनाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको छ। तालिम केही दिनसम्म सञ्चालन हुने जनाइएको छ।






प्रतिक्रिया राख्नुहोस्