५ चरण र २२ खुड्किला पार गर्दै कालिगण्डकीका सबै वडा पोषणमैत्री घोषणा

मुना न्यौपाने असार ७, २०८३ :स्याङ्जा

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यान्वयनमा ऐतिहासिक सफलता हासिल गर्दै गाउँपालिकाभित्रका सातवटै वडालाई पोषणमैत्री वडा घोषणा गरेको छ। निर्धारित समयसीमाभन्दा अगावै सबै मापदण्ड पूरा गरी वडा तहसम्म पोषणमैत्री अभियान सफल बनाउने कालिगण्डकी जिल्लामै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। यसअघि गाउँपालिकाले पहिलो चरणमा आफ्ना सबै स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको थियो। त्यसपछि बहुक्षेत्रीय समन्वय, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय तथा समुदायको सक्रिय सहभागितामा वडा तहसम्म अभियान विस्तार गरिएको हो। गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० ले निर्धारण गरेका सबै सूचकहरू पूरा गर्दै सातवटै वडालाई पोषणमैत्री घोषणा गर्न सफल भएको जनाएको छ। पोषणमैत्री वडा घोषणा केवल औपचारिक कार्यक्रम नभई स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका विकास, पशु सेवा र सुशासनसँग सम्बन्धित सूचकहरूको समग्र उपलब्धिको परिणाम भएको गाउँपालिकाको भनाइ छ। प्रत्येक वडाले निर्धारित मापदण्डअनुसार सेवा प्रवाह, जनचेतना अभिवृद्धि, पोषणसम्बन्धी व्यवहार परिवर्तन तथा समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आवश्यक सूचकहरू पूरा गरेका हुन्। नेपाल सरकारले दिगो विकास लक्ष्य २०३० अन्तर्गत कुपोषण न्यूनीकरणका लागि तय गरेका लक्ष्यहरू प्राप्त गर्न स्थानीय तहलाई जिम्मेवार बनाएको छ। सोही लक्ष्यअनुसार पोषणमैत्री स्थानीय तह घोषणा गर्न स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ, कृषि, पशु विकास र सुशासन व्यवस्थापनका विभिन्न सूचकहरू पूरा गर्नुपर्ने व्यवस्था छ। कालिगण्डकीले ती सबै सूचक पूरा गर्दै निर्धारित समयभन्दा अगावै पोषणमैत्री गाउँपालिका घोषणा हुने आधार तयार गरेको गाँउपालिकाका कार्यवहाक अध्यक्ष सावित्रा काईरालाले बताउनुभयो ।

कुपोषण न्यूनीकरणमा उल्लेखनीय उपलब्धि

पोषणमैत्री अभियान सञ्चालनपछि गाउँपालिकामा मातृ तथा शिशु स्वास्थ्यका सूचकहरूमा सुधार देखिएको छ। गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार सेवन, स्तनपान प्रवर्द्धन, बालबालिकाको वृद्धि अनुगमन तथा किशोरीहरूको पोषण अवस्थाको व्यवस्थापनमा सकारात्मक परिवर्तन आएको पोषण मैत्री पालीका अभियानका फोकल पर्शन बुद्धी सरा भण्डारीले जानकारी दिनुभयो । अहिले गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना गरिएको छ भने पोषणसम्बन्धी परामर्श सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ। आवश्यक औषधि, पोषण सामग्री तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका कार्यक्रमले सेवाको गुणस्तर थप प्रभावकारी बनेको छ। यसले नागरिकलाई स्वास्थ्य संस्थाबाट सहज, सरल र गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत पुगेको भण्डारीको भनाई छ।

के के भयो त परिवर्तन पोषण तथा बालमैत्रीपालिका हुँदाः पोषण तथा बालमैत्री परिकल्पनाकार खिम बहादुर थापा यसो भन्नुहुन्छ ।

व्यवहार परिवर्तनमा सफल अभियान

पोषणमैत्री अभियानले केवल स्वास्थ्य क्षेत्रमा मात्र नभई समुदायको जीवनशैलीमा समेत परिवर्तन ल्याएको छ। स्थानीय स्तरमै उत्पादन हुने पोषणयुक्त खाद्यवस्तुको प्रयोग बढेको छ भने परिवारस्तरमा सरसफाइ, स्वास्थ्यकर भोजन र पोषणसम्बन्धी सचेतना अभिवृद्धि भएको छ। विद्यालय उमेरका बालबालिकामा पोषण र सरसफाइ सम्बन्धी ज्ञान बढेको छ भने किशोरकिशोरीहरूमा स्वस्थ जीवनशैली अपनाउने बानीको विकास भएको छ। गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने प्रवृत्ति बढ्दै गएको छ। यसले मातृ तथा शिशु मृत्यु जोखिम घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको गाउँपालिकाको दाबी छ। कालिगण्डकीमा केही वर्षअघिसम्म परम्परागत सोच र सामाजिक मान्यताका कारण घरमै सुत्केरी गराउने चलन देखिन्थ्यो। पोषण तथा स्वास्थ्यसम्बन्धी निरन्तर जनचेतनामूलक अभियानपछि अहिले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने अभ्यास स्थापित भएको छ। यसलाई गाउँपालिकाले पोषणमैत्री अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

बहुक्षेत्रीय समन्वयको उत्कृष्ट उदाहरण

पोषण सुधार केवल स्वास्थ्य क्षेत्रको विषय नभई बहुआयामिक विकाससँग जोडिएको विषय भएकाले गाउँपालिकाले विभिन्न शाखा तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरेको थियो। स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका शाखाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए। जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, विद्यालय व्यवस्थापन समिति, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायस्तरका अगुवाहरूको सक्रिय सहभागिताले अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाले जनाएको छ।

दिगो विकास लक्ष्य हासिल गर्न स्थानीय तहको योगदान

नेपाल सरकारले सन् २०३० सम्म पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन १५ प्रतिशत, ख्याउटेपन ४ प्रतिशत तथा प्रजनन उमेरका महिलामा हुने रक्तअल्पता १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। कालिगण्डकीको पोषणमैत्री अभियानले ती राष्ट्रिय लक्ष्य हासिल गर्न स्थानीय तहबाट उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। गाउँपालिकाका अनुसार पोषणमैत्री अभियानले स्वस्थ, सक्षम र उत्पादनशील नागरिक निर्माण गर्न सहयोग पुर्‍याएको छ। यसले दीर्घकालीन रूपमा मानव विकास, सामाजिक समृद्धि तथा आर्थिक उन्नतिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। समयसीमाभन्दा अगावै पोषणमैत्री वडा घोषणा सम्पन्न गर्दै कालिगण्डकी गाउँपालिकाले स्थानीय सरकारको प्रतिबद्धता, समन्वय र समुदायको सहभागिताबाट दिगो विकासका लक्ष्यहरू हासिल गर्न सकिने सन्देश दिएको छ। गाउँपालिकाको यो उपलब्धि स्याङ्जा जिल्लाका अन्य स्थानीय तहका लागि समेत प्रेरणादायी उदाहरण बनेको छ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.