शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै अर्जुनचौपारीको नयाँ नीति सार्वजनिक

मेरो दृष्टि सम्बादाता असार ७

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विकासको प्रमुख आधार बनाउँदै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय मौलिकता, आत्मनिर्भरता, सुशासन र उत्पादनमुखी विकासलाई केन्द्रमा राखेको छ। गाउँपालिकाले विगतका उपलब्धिलाई संस्थागत गर्दै आगामी वर्षलाई परिणाममुखी कार्यान्वयनको वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ। विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सिकाइ, संस्कार शिक्षा, ट्यालेन्ट मेन्टर तथा स्पोर्ट्स कोअर्डिनेटर शिक्षकको व्यवस्था जस्ता कार्यक्रममार्फत शिक्षालाई प्रविधिमैत्री र व्यवहारिक बनाउने योजना अघि सारिएको छ। त्यस्तै, ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रमलाई विस्तार गर्दै मनोसामाजिक परामर्श सेवा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्य संस्थाको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ। उपचारमुखीभन्दा स्वास्थ्य प्रवर्द्धनमुखी जीवनशैलीलाई जोड दिँदै योग, ध्यान, मानसिक स्वास्थ्य तथा स्थानीय जडीबुटी संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ। कृषि क्षेत्रलाई आत्मनिर्भरताको आधारका रूपमा लिँदै गाउँपालिकाले प्राङ्गारिक खेती, रैथाने बीउ संरक्षण, सिँचाइ विस्तार तथा कृषकमैत्री कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। उत्पादनशील क्षेत्रमा संलग्न परिवारलाई विद्युत् महसुल छुट, स्वास्थ्य बीमा तथा बीउ पूँजी कार्यक्रममार्फत प्रोत्साहन गरिने उल्लेख गरिएको छ। यसैगरी, धार्मिक पर्यटन, खेल पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन, श्रम संस्कृतिको संरक्षण, सुरक्षित खानेपानी, वातावरण संरक्षण तथा पूर्वाधारको गुणस्तरीय विकासलाई पनि नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिइएको छ। नेपालकै पहिलो नवग्रह मन्दिरलाई केन्द्रमा राखेर धार्मिक पर्यटन विस्तार गर्ने तथा वडा नम्बर ५ स्थित १९०७ एरिना क्रिकेट मैदानलाई उच्चस्तरीय खेल पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ। स्थानीय सरोकारवालाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र संस्कृतिलाई समेटेर ल्याइएको नीति तथा कार्यक्रमले अर्जुनचौपारीलाई आत्मनिर्भर, उत्पादनमुखी र समृद्ध गाउँपालिकाका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। गाउँपालिका अध्यक्ष तिवारीले स्थानीय भूगोल, संस्कृति, जनशक्ति र मौलिकतालाई आधार बनाएर विकासको नयाँ मोडल निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको बताउँदै यसको सफल कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.