रोजगारी, उत्पादन र विकासलाई केन्द्रमा राख्दै हरिनासको ४४ करोडको बजेट
माधब गैह्रे जेठ,१० वालिङ
आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै स्याङ्जाको हरिनास गाउँपालिका ले कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी तथा सुशासनलाई प्राथमिकतामा राखेको छ। “समृद्ध हरिनास, सुखी हरिनासवासी” भन्ने दीर्घकालीन लक्ष्यसहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले उत्पादन वृद्धि, आत्मनिर्भरता र समावेशी विकासलाई केन्द्रमा राखेको छ। कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार मान्दै गाउँपालिकाले कृषि आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यावसायीकरणमा जोड दिएको छ। उच्च मूल्यका बाली उत्पादन, बीउ उत्पादन, सिँचाइ विस्तार तथा कृषि उद्यम प्रवर्द्धनमार्फत उत्पादन र आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको छ। त्यसैगरी पशुपालन क्षेत्रको विकास, पशुरोग नियन्त्रण, घाँस तथा आहार व्यवस्थापन, कृत्रिम गर्भाधान सेवा विस्तार तथा युवामुखी स्वरोजगार कार्यक्रममार्फत कृषि तथा पशुपालनलाई आत्मनिर्भर बनाउने नीति अघि सारिएको छ। सहकारी क्षेत्रको सुशासन, उद्योग तथा व्यवसाय विस्तार र निजी क्षेत्रसँगको सहकार्यबाट आन्तरिक आय वृद्धि तथा रोजगारी सिर्जना गर्ने योजनासमेत गाउँपालिकाले अघि सारेको छ। पूर्वाधार विकासतर्फ सडक, पुल, भवन, नाली तथा हरियाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ भने श्रम–आधारित निर्माण प्रणाली तथा सुरक्षित भवन मापदण्डलाई प्राथमिकतामा राखिने जनाइएको छ। “एक घर एक धारा” अभियानलाई निरन्तरता दिँदै स्वच्छ खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन, सुरक्षित आवास तथा चर्पी निर्माण कार्यक्रमलाई थप विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न १५ शैयाको अस्पताल सञ्चालन, डिजिटल स्वास्थ्य प्रणाली, निःशुल्क औषधि वितरण, खोप कार्यक्रम, पोषण तथा मातृ–शिशु स्वास्थ्य सेवाको सुदृढीकरण गरिने भएको छ। विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन विशेष व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ। शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित विद्यालय सुधार, शिक्षक तालिम, डिजिटल शिक्षण, सीपमूलक शिक्षा तथा बालमैत्री पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायका लागि समान अवसर, सशक्तिकरण र सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ। सुशासन प्रवर्द्धनका लागि डिजिटल शासन, पेपरलेस प्रशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा पारदर्शी सेवा प्रवाहलाई जोड दिइएको छ। साथै वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा दिगो विकासका कार्यक्रमलाई समेत प्राथमिकताका साथ अगाडि बढाइने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४४ करोड २४ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यसमध्ये सशर्त कार्यक्रमसहित चालु खर्चतर्फ ३० करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १३ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ। नीति तथा कार्यक्रम तथा बजेटले उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, गुणस्तरीय सेवा प्रवाह तथा दिगो विकासमार्फत हरिनासवासीको जीवनस्तर उकास्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्