बाढीपहिरो पीडितका लागि हरिनास गाउँपालिकाले तीज गीत प्रतियोगिता स्थगित गर्दै ५ लाख सहयोग गर्ने

मुना न्यौपाने,कालिगडकी भदौ,१३

स्याङ्जाको हरिनास गाउँपालिकाले प्राकृतिक विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तीज गीत प्रतियोगिता कार्यक्रम स्थगित गरी त्यसका लागि विनियोजित ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरद्वारा जारी शोक तथा सहयोगसम्बन्धी विज्ञप्ति जारी गर्दे भदौ १० गते रुसुवा जिल्ला आसपासका क्षेत्रमा आएको बाढीका कारण मानवीय तथा भौतिक क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दे हरिनास गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ मा विनियोजन गरेको तीज गीत प्रतियोगिता कार्यक्रमका लागि छुट्याइएको रकममध्ये ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिकाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, विपद्मा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाका कार्यमा गाँउपालिकाको तर्फबाट अन्य सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउदै विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभावित परिवार र समुदायप्रति एकताबद्ध हुनसमेत आग्रह गरेको छ। गाउँपालिकाको यो निर्णयले विपद्का बेला स्थानीय तहले आफ्ना नियमित तथा मनोरञ्जनात्मक कार्यक्रमको बजेटलाई समेत राहत तथा उद्धारमा परिचालन गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ। स्थानीय तहले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पीडित नागरिकका लागि तत्काल सहयोग जुटाउने प्रयास गरेको भन्दै यस निर्णयलाई सकारात्मक रूपमा हेरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.