वालिङ–२ को जनकल्याण साना किसान सहकारीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख सहयोग
माधव गैह्रे, स्याङ्जा वालिङ, भदौ १५।
स्याङ्जाको वालिङ नगरपालिका–२ मा रहेको जनकल्याण साना किसान कृषि सहकारी संस्था लिमिटेडले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहतस्वरूप १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संस्थाको २०८३÷०५÷१३ गते बसेको सञ्चालक समिति तथा लेखा समितिको बैठकले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। करिब ६५० जना शेयर सदस्य रहेको सहकारीले आफ्ना सम्पूर्ण सदस्यको प्रतिनिधित्व हुने गरी संस्थागत रूपमा सहयोग गर्न लागेको अध्यक्ष दामोदर रेग्मीले बताउनुभयो। “विपद्को समयमा पीडितको दुःखमा साथ दिनु हाम्रो सामाजिक दायित्व हो। सबै शेयर सदस्यको भावनालाई समेटेर संस्थाको तर्फबाट सहयोग गर्ने निर्णय गरेका हौँ,” अध्यक्ष रेग्मीले भन्नुभयो। सहकारीले राहत सहयोगसँगै साना किसानको आर्थिक तथा कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिँदै पनि आएको छ।


किसानलाई बीउ–बिजन उपलब्ध गराउने, कृषि उत्पादन वृद्धि गर्ने, पशुपालन प्रवर्द्धन गर्ने तथा भकारो सुधार कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीले कृषि बाहेक पनि सहकारीका सेयर सदस्य मुखी कार्यक्रम गर्दे उत्पादन र आयआर्जन बढाउने कार्यमा पनि सहयोग पुय्राउदै आएको अध्यक्ष रेग्मीको भनाई छ। प्रबन्धक विष्णुप्रसाद रेग्मीका अनुसार सहकारीका सम्पूर्ण शेयर सदस्यले बाढीपीडितलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए। तर अधिकांश सदस्य साना किसान भएकाले व्यक्तिगत रूपमा ठूलो रकम सहयोग गर्न सक्ने अवस्था नरहेको भन्दै सबै शेयर सदस्यको भावनालाई समेटेर संस्थागत रूपमा एकमुष्ट रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। “हाम्रा सम्पूर्ण शेयर सदस्यले बाढीपीडितलाई सहयोग गर्नुपर्छ भन्ने भावना राख्नुभएको थियो। तर साना किसान सदस्यहरूसँग ठूलो रकम छुट्टै सहयोग गर्न सक्ने अवस्था थिएन। त्यसैले सबै सदस्यको भावनालाई प्रतिनिधित्व हुने गरी संस्थाबाट एकमुष्ट १ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हौँ,” प्रबन्धक रेग्मीले भन्नुभयो। उहाँका अनुसार आगामी असोजमा हुने वार्षिक साधारणसभामा शेयर सदस्यलाई उपलब्ध गराइने यातायात खर्चबाट रकम कटाएर उक्त सहयोग रकम जुटाउने योजना बनाइएको हो। यसबाट संस्थाको रकम मात्र नभई प्रत्येक शेयर सदस्यको भावनात्मक सहभागिता समेत बाढीपीडितको राहतमा जोडिने उहाँको भनाइ छ। “सहयोग रकम संस्थाको तर्फबाट भए पनि यसको वास्तविक प्रतिनिधित्व हाम्रा ६५० जना शेयर सदस्यको हो। साधारणसभामा सदस्यलाई दिइने यातायात खर्चबाट समेत समायोजन गरेर सहयोग गर्ने निर्णय गर्नुको उद्देश्य सबै सदस्यको भावना राहतमा जोड्नु हो,” रेग्मीले भन्नुभयो।






प्रतिक्रिया राख्नुहोस्