बाढीप्रभावित लागि पुतलीबजार नगरपालिकाको २७ लाख सहयोग
भवानी अधिकारी १६, भाद्र २०८३
स्याङ्जा १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्धार तथा राहत कार्यमा सहयोगार्थ पुतलीबजार नगरपाकिाले झण्डै साढे २७ लाख रुपैंया बराबरको नगद तथा जिन्सी सहयोग गर्ने भएको छ ।

चीनको तिब्बतबाट सुरुभएको भोटेकोशी नदी लगायतका रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र आसपासका जिल्लामा पुग्न गएको अपुरणीय जनधनको क्षति र प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले पुतलीबजारले २७ लाख ३९ हजार ८५८ रुपैयाँ बराबरको नगद तथा जिन्सी सहायता प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
प्रमुख रेग्मीका अनुसार, ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा १६ लाख ३९ हजार ८५८ जम्मा गर्ने र अन्य ११ लाखको दैनिक उपभोग्य सामान खरिदगरी बाढीप्रभावित क्षेत्रमा पठाउने तयारीमा छौं ।’

पुतलीबजार नगरपालिकाकोे सोमबार बसेको बैठकले गत भदौ १० गतेको बिध्वंसात्मक बाढीका कारण पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैगरी, बाढीपहिरोमापरी बेपत्ता हुनेको छिटोछरितो खोजीकार्य र विस्थापित परिवारलाई उचित राहत सहित पुनस्र्थापनाको लागि सरोकारवाला सबैसंग आग्रह गरिएको छ ।
बैठकमा पुतलीबजार नगरप्रमुख र उपप्रमुखले १५-१५ दिनको पारिश्रमिक, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले १०÷१० दिनको र वडा सदस्यहरूबाट जनही. ४ हजार ५ सय सहयोग गर्ने जनाएका छन् । यसरी संकलन गर्दा ३ लाख ८८ हजार ७५० रुपैंया जम्मा हुने भएको छ ।
यसैगरी, नगरपालिकाका राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणीका कर्मचारीले जनही ७ दिनको तलब, राजपत्र अनंकित कर्मचारीले जनही ५ दिनको र श्रेणीविहीन कर्मचारीले जनही २ दिनको तलब सहयोग गर्ने जनाउदा १२ लाख ५१ हजार १०८ सकंलन हुने भएको नगरप्रवक्ता मनोज पौडेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्