विद्यार्थी आन्दोलनबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्म गोविन्द कोइराला

मेरो दृष्टि सम्बादाता असोज ९,वालिङ

विद्यार्थी आन्दोलन र शैक्षिक सुधारका अभियानमा सक्रिय रहँदै आएका २७ वर्षीय गोविन्द कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि बन्ने इच्छा व्यक्त गरेका छन्। अर्थशास्त्रमा स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत कोइरालाले त्रिचन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गर्दै शैक्षिक तथा विद्यार्थीका सवालमा विभिन्न अभियानको नेतृत्व तथा सहभागिता जनाउँदै आएका छन्। विद्यार्थी राजनीतिमा सक्रिय रहँदा उनले किताबमाथिको कर हटाउ अभियान, विद्यालय तथा उच्च शिक्षा ऐन परिमार्जन अभियान, त्रिचन्द्र बचाउ अभियान #SaveTrichandra, सार्वजनिक पुस्तकालय बचाउ अभियान #SavePublicLibraries तथा संविधान संरक्षण अभियान #SaveTheConstitution लगायतका अभियानमा सक्रिय भूमिका निर्वाह गरेका छन् । स्याङ्जाको कालिका माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेका तथा भीरकोट नगरपालिका–६ निवासी कोइराला त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचनमा सभापति पदमा विजयी भएका थिए। उनी स्याङ्जा जिल्लाबाट त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बन्ने पहिलो व्यक्ति भएको दाबी गरिएको छ। विद्यार्थी आन्दोलनबाट प्राप्त अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्ने उद्देश्यसहित आफूले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी अघि बढाउन चाहेको कोइरालाले बताएका छन्। उनले विद्यालय शिक्षाको परिमार्जन, उच्च शिक्षाको प्रबलीकरण र युवाका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। “नेपाली कांग्रेसको अहिलेको प्रमुख एजेन्डा विद्यालय शिक्षाको परिमार्जन, उच्च शिक्षाको प्रबलीकरण एवं युवालाई रोजगारी हुनुपर्छ। त्यसका लागि म कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर पार्टीको नीति र प्राथमिकतामा काम गर्न चाहन्छु,” कोइरालाले भने। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए शिक्षा र विद्यार्थी वर्गका सवाललाई नेपाली कांग्रेसको महाधिवेशनमार्फत पार्टीको प्राथमिकतामा राख्ने गरी आवश्यक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने आफ्नो योजना रहेको उनले बताए। ‘विद्यार्थी आवाजको संवाहक, स्याङ्जा जिल्लाको प्रतिनिधित्व’ भन्ने भावनासहित अघि बढेका कोइरालाले विद्यार्थी राजनीतिबाट हासिल गरेको अनुभवलाई शिक्षा, युवा र रोजगारीका विषयमा पार्टीको नीति निर्माणसँग जोड्न चाहेको बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.