मे.दृ संवाददाता
स्याङ्जा, २८ भदौ
नगरभित्र घर भएका तर करेसाबारी नभएका घरधुरीलाई पुतलीबजार नगरपालिकाले नौलो कार्यक्रम सुरु गरेको छ ।
घरको भन्सा कोठामा दैनिक निस्किने फोहोर व्यवस्थापन गर्न पुतलीबजार नगरपालिकाले
झोल मल बनाउने बाल्टिन वितरण गरेको हो । यो मल उत्पादन भएसँगै करेसाबारी नभएका घरधुरीको कौसीमा करेसाबारी बन्न थालेको छ ।
बजार क्षेत्रमा घर भएका तर फोहोर फाल्ने जग्गा नभएका घरधुरीलाइ पहिचान गर्दै नगरपालिकाले कम्पोस्ट मल बनाउन मिल्ने हरियो बाल्टी वितरण गरेसँगै नगरवासीले फोहोरलाइ मोहोरमा परिवर्तन गर्न थालेका छन् ।
एक टोल एक नर्सरी र एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताईन् ।
‘घर छ तर फोहोर फाल्ने जग्गा छैन त्यस्ता घरधुरीको लगत सङ्कलन गरेका छौँ । पहिचान भएका यस्ता नगरबासीलाई घरमै मल बनाउने र कौसीमा तरकारी खेती गर्न प्रशिक्षण पनि दिएका छौँ ।’ क्षेत्रीले बताइन् ।
५० प्रतिशत अनुदानमा नगरले कम्पोस्ट मल बनाउन मिल्ने बाल्टी वितरण गरेको हो । पुतलीबजार नगरपालिकाका १, ३ र १० नं. वडाहरुमा रहेका १५० घरधुरीलाइ झोल मल बनाउने प्रशीक्षण सहित बाल्टिन वितरण गरिएको छ । लकडाउनको समयमा घरमै अर्गानीक तरकारी उत्पादन गर्न थालिएको कृषकको भनाइ छ ।
लकडाउनको कारण तरकारीको महँगी बढेको बताउँदै पुबनपा ३ कि इन्द्रा कुमारी सिंह भन्छिन् ,‘ एकातिर फोहोर व्यवस्थापन हुने अर्कोतिर घरमै फलेको तरकारी सेवन गर्न पाइने । नगरको यो अभियान प्रशंसनीय छ । ’ बाल्टिन वितरण गरिएसँगै कौसीमा ताजा तरकारी र फलफुल खेती गर्न उर्जा मिलेको सिहं बताउँछिन् ।
कम्पोस्ट (झोल) मल बनाउने तरिका सिकाउन उद्यम चौतारीका सञ्चालक ऋषीराम पौडेलले सहजीकरण गरेका थिए । पौडेलले भान्सा कोठाबाट निस्कने फोहोरबाट झोल मल बनाउन सकिने जानकारी दिदै गृहणी महिलाहरुले मल बनाएर करेसावारीबाट फाइदा लिन सक्ने बताए ।
कम्पोस्ट मल बनाउने हरियो बाल्टी वितरण प्रभावकारी भएमा अन्य वडाका किसानहरुलाई पनि यो विधि अवलम्बन गराइने नगरपालिकाले जनाएको छ । यो अभियानले नगरलाइ सरसफाई मात्रै होइन कौसीमा तरकारी खेतीको आकर्षण पनि बढाएको छ ।