कारोना संङ्क्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि
मेरो दृष्टि संवाद्दाता
स्याङ्जा ,२५ बैशाख
पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संङ्क्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण सुरु गरेको छ । नगरपालिकाले जिल्ला सरदमुकमा र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालयको सहकार्यमा औषधि वितरण गरेको हो ।
पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समाज मै फैलिरहेको र कोरोनालाई न्यूनिकरण गर्न आयुर्वेदिक औषधी वितरण गरिएको बताईन् । उनले भनिन् , ‘कोरोनाको औषधि पत्ता लागेको छैन , आयूर्वेदिक औषधिले कुनै असर पनि गर्दैन र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ’नगरप्रमुख क्षेत्रीले पालिकामा हाल सम्म २९ जना कोरोना संङ्क्रमित रहेको बताउदै सबै कोरोना संङक्रमित बिरामीहरुकहाँ पुर्याउने जानकारी दिईन् ।
विरामीहरुलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ बाट आयुर्वेदिक औषधि दिन सुरु गरिएको १३ का वडा अध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगरप्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए ।
अधिकारीले औषधि वितरणले बिरामीहरुको मनोवल उच्च भएको बताए । साथै पुतलीबजार नगरपालिकाका स्वास्थ्यकर्मीहरुले संङ्क्रमितको घरघरमा गई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै आएका छन् ।
पुतलीबजारमा दोस्रो चरणको भेरिएन्ट कोरोनाबाट २९ जना बिरामी परेका छन् । कोरोना संङ्क्रमितहरु होम आईसोलेसनमा बस्दै आएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको पालिकाले जानकारी दिएको छ । बिरामी भएकाहरुलाई सुरक्षित राख्न पालिकाले करेण्डाँडा स्वास्थ्य चौकीमा २० बेडको आइशोलेशन निर्माण गरेको छ । यस्तै गणेशपुर स्वास्थ्य चौकीमा २० बेडको आइशोलेशनको निर्माण अन्तिम चरणमा पुगेको बताएको छ ।