वालिङमा स्वास्थ्य क्षेत्रमा स्याङ्जा सहयोग समाज कतार, वालिङ नगर इकाईको महत्वपूर्ण सहयोग
मेरो दृष्टि सम्बादाता भदौ ९,वालिङ
स्याङ्जा सहयोग समाज कतार, वालिङ नगर इकाईले वालिङ नगरपालिका–२ स्थित धनुवासे स्वास्थ्य चौकी, सिमलचौपारीलाई एक थान बेड सहयोग गरेको छ। वैदेशिक रोजगारीका लागि कतारमा रहेका तथा वालिङसँग सम्बन्धित युवाहरूको सहयोगमा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले उक्त बेड उपलब्ध गराइएको हो। करिब २८ हजार रुपैयाँ बराबरको बेड स्याङ्जा सहयोग समाज कतार, वालिङ नगर इकाईका कोषाध्यक्ष नारायण क्षेत्रीले धनुवासे स्वास्थ्य चौकीका अध्यक्ष तथा वालिङ नगरपालिका–२ का वडा अध्यक्ष पोतप्रसाद लम्साललाई हस्तान्तरण गर्नुभएको हो।स्वास्थ्य चौकीको आवश्यकता र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बेड उपलब्ध गराइएको स्याङ्जा सहयोग समाज कतार, वालिङ नगर इकाईका कोषाध्यक्ष क्षेत्रीले बताउनुभयो। उहाँका अनुसार वालिङ नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूको अवस्थाबारे अध्ययन गर्ने क्रममा धनुवासे स्वास्थ्य चौकीमा बिरामीको चाप तुलनात्मक रूपमा बढी रहेको र आवश्यक पूर्वाधारको समेत कमी देखिएकाले प्राथमिकताका आधारमा सहयोग गरिएको हो। “स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधारको कमी रहेकाले बिरामीलाई सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले बेड उपलब्ध गराएका हौँ,” क्षेत्रीले भन्नुभयो, “आवश्यकता र प्राथमिकताका आधारमा आगामी दिनमा वालिङका अन्य स्वास्थ्य संस्थाहरूमा पनि सहयोग गर्दै जाने हाम्रो लक्ष्य छ।”धनुवासे स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाहमा समस्या हुँदै आएको बताइएको छ। स्वास्थ्य चौकीमा हाल चार थान बेड आवश्यक रहेकोमा एक थान बेड प्राप्त भएपछि केही राहत पुगेको वडा अध्यक्ष एवं स्वास्थ्य चौकीका अध्यक्ष लम्सालले बताउनुभयो। बेड हस्तान्तरणपछि धन्यवाद व्यक्त गर्दै लम्सालले स्वास्थ्य क्षेत्रमा गरिएको सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सीमित स्रोत–साधनका बीच स्वास्थ्य सेवा सञ्चालन गर्नुपरिरहेको अवस्थामा एउटा बेड थपिनुले पनि बिरामीलाई सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। “स्वास्थ्य चौकीमा चार थान बेड आवश्यक थियो। अहिले एक थान प्राप्त भएको छ। अझै तीन थान बेड आवश्यक छ,” लम्सालले भन्नुभयो, “आगामी दिनमा पनि स्याङ्जा सहयोग समाज कतार, वालिङ नगर इकाईले आवश्यकताअनुसार थप सहयोगका लागि विशेष भूमिका खेलिदिने अपेक्षा गरेका छौँ।” लम्सालले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका युवाहरूले आफ्नो जन्मभूमि र स्थानीय समुदायलाई सम्झिएर गरेको सहयोग उदाहरणीय भएको बताउनुभयो। उहाँले सहयोगी मनहरू तथा स्याङ्जा सहयोग समाज कतार, वालिङ नगर इकाईप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक तथा जनमुखी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले वालिङ घर भई रोजगारीका सिलसिलामा कतारमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र सफल जीवनको कामना समेत गर्नुभयो। स्याङ्जा सहयोग समाज कतार, वालिङ नगर इकाईले यसअघि पनि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। स्थानीय आवश्यकतालाई पहिचान गरी प्राथमिकताका आधारमा आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा रचनात्मक सहयोगलाई निरन्तरता दिने इकाईको लक्ष्य रहेको छ।






प्रतिक्रिया राख्नुहोस्