काठमाडौं । नेपाल अण्डा, मासु, धुलो दूध (एसएमपी) र बटरमा आत्मनिर्भर बनेको छ । यी पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा आज हुँदै छ । सो घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
धुलो दूध, बटर, मासु र अण्डाको आयात शून्यमा झरेको छ । यी चिज नेपालमा नै भएको उत्पादन पर्याप्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
कृषि मन्त्रालयका अनुसार नेपालमा एक अर्ब ४० करोड अण्डा उत्पादन हुन्छ । त्यसमध्ये प्रतिव्यक्ति वार्षिक रूपमा न्युनतम ४८ वटा खानुपर्छ तर नेपालमा प्रतिव्यक्ति ५४ वटा अण्डा पुगिरहेको छ । सहसचिव निर्मलका अनुसार प्रतिव्यक्ति १०० गोटा अण्डा पुर्याउने लक्ष्य रहेको बताए ।
त्यस्तै नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको तर उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको छ । बटर(घिउ) १२ सय मेट्रिक टन उत्पादन हुने र त्यति नै खपत हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । ब्रेड तथा अन्य कुरामा प्रयोग हुने बटर थोरै मात्रामा आयात हुन्छ तर घिउलाई चाहिने बटर नेपालमै उत्पादन हुने गरेको छ ।
नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ । त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु रहेको छ । बाँकी अन्य पशुपन्छीको मासु हुने गरेको छ । नेपालमा कुखुरा, खसी, बङ्गुर र राँगाको मासु बढी प्रयोग हुन्छ । यी पशुपन्छीको मासुमा नेपाल आत्मनिर्भर रहेको कृषि मन्त्रालयले जनाएको छ । वार्षिक ३३ लाख खसीबोकाको मासु नेपालमा खपत हुने गरेका छन् । विभागको तथ्याङ्कअनुसार नेपालमा दैनिक १० लाख केजी कुखुराको मासु खपत हुन्छ ।