गल्याङमा बृहत पोषण अभिबृद्धि सम्बन्धि एक हप्ते तालिम सुरु

गोविन्द खनाल, मंसिर ७

गल्याङ नगरपालिकामा बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि तालिम सुरु भएको छ ।
गल्याङ नगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि एक हप्ते तालिम मंगलबार सुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पोषण र स्वास्थ्यलाई आन्तरिक उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले विषादीयुक्त खानाको असर स्वास्थ्यमा पर्ने भएकाले घरमै उत्पादन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘बजारबाट किनिएका तरकारीहरुबाट हामीले विषादी लिइरहेका हुन्छौं । यसलाई रोकेर आफ्नो लागि मात्रै भए पनि घरबाट उत्पादन गर्न सकेमा धेरै रोगहरुलाई रोक्न सकिन्छ ।’ दुधको सेवनले पनि धेरै फाइदा गर्ने भएकाले आफुले सेतो सहरको अवधारणा ल्याएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
नगरपालिकाले अण्डामा आत्मनिर्भरको कार्यक्रम ल्याएको भन्दै उहाँले हजार दिने आमाहरुका लागि नगरपालिकाले विशेष योजनाहरु ल्याउने तयारी गरेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालिमलाई उपलब्धीमूलक बनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्यसँग जोडिएका कुराहरु संबेदनशील हुने भएकाले यसमा स्वास्थ्यकर्मी धेरै चनाखो हुनुपर्ने उहाँले बताउनुभयो ।
गल्याङ नगरपालिका स्वास्थ्य संयोजक गुनेन्द्र रानाले बच्चाको शारिरिक तथा मानसिक विकास सुरुको हजार दिन भित्र हुने भएकाले सोही समयलाई केन्द्रीत गरेर तालिमको आयोजना गरिएको बताउनुभयो ।
नगरपालिकाका सिनियर अहेब तुलसीराम बरालले बृहत पोषण लक्षित कार्यक्रम अन्तर्गत नगरपालिका भरीका स्वास्थ्यकर्मीहरुका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।
सिनियर अहेब विपिन कोइरालाले एक एक हप्ता गरेर तीन चरणमा गरी २१ दिनमा तालिम सम्पन्न हुने जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले हजार दिने एक आमालाई पोषण खाना दिएर तालिमको उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.