खाद्यान्न लगायत अत्यावश्यक वस्तु पर्याप्त छ; कालोबजारी गरे दण्डः सरकार

माधब गैह्रै,काठमाडौं, फागुन २४ः

सरकारले सबै किसिमका दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा रहेको भन्दै  कहिं कसैले कालोबजारी गरेको पाइए कानूनअनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको विषयलाई लिएर अनावश्यक हल्ला चलाएर बजारमा उपभोग्य वस्तुको कालोबजारी गर्ने तथा अभाव सिर्जना गरिएको पाइए कानूनअनुसार कारवाही हुने उल्लेख गर्दै सरकारले कुनै पनि उपभोग्य वस्तु अभाव नरहेको स्पष्ट पारेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न, पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको पुग्दो मौज्दात रहेको जानकारी दिनुभयो ।

बजारमा ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकामा मात्रै दैनिक ४४ हजार सिलिन्डर उत्पादन गरिने मन्त्रालयको भनाइ छ ।

हाल दैनिक ३० हजार सिलिन्डर उत्पादन भइरहेकामा अब १४ हजार सिलिन्डर थप गर्ने तयारी गरिएको छ । यस्तै मन्त्रालयले बजारमा पेट्रोलियम पदार्थ, नून, चिनी, चामललगायत खाद्यान्नको आपूर्तिमा समस्या नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मात्रै २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात छ ।

कूल एक लाख ३६ हजार मेट्रिक टन नुन स्टकमा रहेको छ । त्यसैगरी कूल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा छ भने सात हजार ५०० मेट्रिक टन मार्गस्थलमा छ ।

चिनी उद्योगसँग मात्रै एक लाख मेट्रिक टन चिनी मौज्दात छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.