headline 2कृषिदेश

मल ल्याउन नसकेपछि दुई ठेकेदार कम्पनीको बैंक धरौटी जफत

भदौ २३

काठमाडौं । समयमा मल ल्याउन नसकेपछि २ ठेकेदार कम्पनीले राखेको पाँच प्रतिशत बैंक धरौटी जफत हुने भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याएको आरोपमा शैलुङ इन्टरप्राइजेज र होविको मल्टिपलले राखेको पाँच प्रतिशत बैंक धरौटी जफत गर्ने निर्णय गरेको हो । दुवै कम्पनीले मल आपूर्ति गर्ने अन्तिम समय भदौ २० गते थियो ।

तर अन्तिम समयसम्म पनि एक बोरा पनि मल ल्याउन नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडको आइतवार बसेको बैठकले दुवै कम्पनीले ठेक्का सम्झौता गर्दा राखेको धरौटी रकम जफत गर्ने निर्णय गरेको हो ।

ठेक्का सम्झौता भएको चार महिना बित्दा पनि दुवै कम्पनीले मल ल्याउने मनसाय नदेखाएपछि कारबाही स्वरूप धरौटी जफत गरिएको कम्पनीका प्रवक्ता राजेन्द्रप्रसाद पोखरेलले बताउनुभयो ।

शैलुङले ४ लाख ४ सय २ अमेरिकी डलर र होनिको मल्टिपलले ३ लाख ७७ हजार ३ सय ७५ डलर रकम धरौटी राखेका थिए ।

त्यसबेलाको प्रचलित डलरको दरअनुसार शैलुङको चार करोड ८८ लाख ४९ हजार ४४ र होविकोको चार कराेड ५६ लाख ६२ हजार ३ सय ७५ नेपाली रुपैयाँ जफत भएको कम्पनीले जनाएको छ । दुवैको जोडेर ९ करोड ४५ लाख ११ हजार ४१९ रुपैयाँ धरौटी हुन आउँछ ।

बाँकी कारबाही प्रक्रियाबारे कानुनी राय लिएपछि टुंगो लाग्ने पोखरेलले बताउनुभयो । ठेकेदार कम्पनीलाई चौतर्फी कारबाहीको माग बढेपछि कृषि मन्त्री घनश्याम भुसालले कारबाहीको कदम चाल्नुभएको हो ।

कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङको ४ करोड ८० लाख र होवीको ४ करोड ८ लाख धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थ सरह विभिन्न मुलुकसँग सम्झैता गरेर मल आयात गर्नेगरी छलफल भइरहेको पनि मन्त्री भुसालले बताउनुभयो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.